Skip

Hamro Sanchar

नयाँ संसद् भवन ढिलाइ: प्रतिनिधि सभाका बैठक अस्थायी रूपमा बहुउद्देश्यीय हलमा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार नहुँदा प्रतिनिधि सभाका बैठकहरू अस्थायी रूपमा संसद् परिसरमै रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ।

मुख्य सभाकक्ष निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना नदेखिएपछि संघीय संसद् सचिवालयले वैकल्पिक व्यवस्था स्वरूप बहुउद्देश्यीय हल प्रयोग गर्ने निर्णय गरेको हो।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाको बैठक नयाँ संसद् भवन परिसरमै बस्ने भए पनि मुख्य सभाकक्ष तत्काल तयार नहुने देखिएकाले अस्थायी व्यवस्था गरिएको हो। उनका अनुसार बहुउद्देश्यीय हलमा सांसदहरूको शपथग्रहण गराउने र प्रारम्भिक केही बैठकहरू समेत सञ्चालन गर्ने तयारी भइरहेको छ।

सरकारले निर्माण गरिरहेको प्रतिनिधि सभाको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो। तर हालसम्मको निर्माण प्रगति हेर्दा सो मितिभित्र काम सम्पन्न हुने अवस्था नरहेको गिरीले बताए।

उनले शहरी विकास मन्त्रालय तथा निर्माण कम्पनीहरूसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्न आवश्यक व्यवस्थापन भइरहेको जानकारी दिए। बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही प्राविधिक काम मात्र बाँकी रहेको उनले बताए।

सचिवालयले निर्माण कार्यको नियमित अनुगमन र समन्वय गरिरहेको पनि उनले उल्लेख गरे। उनका अनुसार बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण वा संसद बैठक रोकिने अवस्था भने आउने छैन।

यसअघि संसद बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद् भवन आन्दोलनका क्रममा आगजनी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको थियो। हाल राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरमा रहेको कृषि समितिको पुरानो हलमा सञ्चालन हुँदै आएको छ।

सिंहदरबार परिसरको करिब १५६ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ। २०७६ असोज १६ गते तुन्दी–सेक जेभीले करिब ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा ठेक्का लिएर २०७९ असोज १६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर पटक–पटक म्याद थपिए पनि २०८२ फागुनसम्म भवन निर्माण पूरा हुन सकेको छैन।


प्रतिकृया दिनुहोस्