Skip

Hamro Sanchar

बजारमा फैलिएको हल्लाबारे कांग्रेस नेता शर्मा : चुनाव हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले चुनावमा हार वा जित हुनुले सामाजिक सेवामा कुनै पनि असर नर्पने बताएका छन् ।

बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफूले सञ्चालन गरेका संस्थाहरूबाट विगतमा हुँदै आएको सेवा र सहयोग निरन्तर रहने उल्लेख गरे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्– विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित वार्ड तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने हाम्रो प्रयास सधैँ निरन्तर रहँदै आएको छ।

चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छ, उनले भनेका छन् ।

बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधि अनुसार आउन पनि उनले सबैमा आग्रहसमेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्