
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट नराम्रोसंग पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टीसंग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफुले आम जनता पार्टीको चूनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसंग कुनै सम्बन्ध नरहेको बताएका हुन् ।
आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।
धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोवाईल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफुले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए ।
उनले आफूले ६ महिनाअघि नै मधेसमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे ।
धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।













