
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् ।
रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा ९एमाले० का तर्फबाट उम्मेदवार भएर पराजित समेत भएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैंलाई रुपान्तरण गर्न आग्रह गरेका हुन् ।
उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको र रूपन्देही क्षेत्र नम्बर २ का मतदाताहरूको फैसलालाई आफूले सविनय र सहर्ष स्वीकार गरेको बताएका छन् ।
उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रूपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशा गरेका छन् ।
यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ(आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु, उनले भनेका छन् ।













