Skip

Hamro Sanchar

गगनलाई अमरेशको चुनौती : भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


Advertisement

सर्लाही । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै खुलापत्र सार्वजनिक गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा थापाले सर्लाहीमा आएर चुनाव लडेकोमा धन्यवाद दिँदै राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने उल्लेख गरेका छन्।

पत्रमा सिंहले थापा आफू स्वेच्छाले नभई ‘भ्रष्टहरूद्वारा आयातित उम्मेदवार’ बनेको आरोप लगाएका छन्। साथै चुनावी अभियानका क्रममा आफूविरुद्ध व्यक्तिगत तथा पारिवारिक जीवनबारे टिप्पणी गराइएको दाबी पनि गरेका छन्।

“राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ”‚ पत्रमा सिंहले लेखेका छन्, “चुनावका तिता कुरा अब छोडौँ।” सिंहले अब देश निर्माणको अभियानमा रास्वपा अघि बढिसकेको दाबी गर्दै आगामी दिनमा विभिन्न मुद्दामा सहकार्य हुन सक्ने बताएका छन्।

उनले भ्रष्टाचारविरुद्ध जनमत रास्वपालाई प्राप्त भएको उल्लेख गर्दै थापालाई ‘भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न’ आग्रह गरेका छन्।

त्यसैगरी सिंहले थापाले नेपाली कांग्रेसलाई परिवर्तन गर्न खोजे पनि आफू भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। अन्त्यमा उनले थापाको आगामी राजनीतिक यात्रा ‘सफा र स्वच्छ’ होस् भन्ने कामना व्यक्त गरेका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही ४ मा गगनलाई अमरेशले भारी मतान्तरले पराजित गरेका थिए ।


प्रतिकृया दिनुहोस्