
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्नुपर्ने माग गरेका छन्।
जबकि रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई घोषणा गरिसकेको छ।
तर पूर्वमेयर नै रहेका साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बालेन होइन, रविलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।
उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो१ सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ१ नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।’
बालेन र साम्पाङ दुवै मेयर पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका थिए। बालेनले झापा-५ बाट विजय हासिल गरिसकेका छन् भने साम्पाङ पनि सुनसरी १ मा जितउन्मुख देखिएका छन्। मतान्तर बढाउँदै लगेका छन्।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका थिए भने साम्पाङ पनि स्वतन्त्र उम्मेदवारकै रूपमा धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका थिए।
तर खासगरी जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गर्ने बेला आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेको भन्दै साम्पाङ बालेनप्रति रुष्ट भएका हुन्।
त्यसो त चुनावी भाषणका बेला साम्पाङले रविको पनि कडा आलोचना गरिरहेका थिए। तर रास्वपाले बहुमत ल्याउँदै सरकार बनाउने निश्चित भएपछि उनले प्रधानमन्त्रीमा बालेनभन्दा रवि ठिक भनेका हुन् ।















