Skip

Hamro Sanchar

काठमाडौं-२ मा ‘सिट जोगाउने’ र ‘विरासत फर्काउने’ दाउबीच चुनावी भिडन्त!

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ लाइ फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ।

औपचारिक प्रचारप्रसार भोलि देखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन्।

यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन्। राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनिल केसी र श्रम संस्कृति पार्टीका मुकुन्द कार्की छन्। यहाँ २२ जना पुरुष र ६ जना महिला छन्। दलबाट तीन र तीन जना महिला स्वतन्त्र उम्मेदवार छन्।

यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ। यो निर्वाचनलाई आफूहरुले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रुपमा लिएको उम्मेदवारहरुले बताएका छन्।

तीन वर्षअघि काठमाडौं–२ ले जिताएको नेतृ सोविता गौतम यसपालि सोही क्षेत्रमा उमेदवार छैनन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटै उमेदवार बन्न चितवन–३ मा पुगिन्।

त्यही निर्वाचनमा दोस्रो र तेस्रो बनेका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार फेरि पनि प्रतिस्पर्धामा छन्। त्यो चुनावमा रास्वपाबाट सोविताले १५ हजार २३८ मत ल्याउँदा एमालेका मणिराम फुयालले ११ हजार ५६६ मत ल्याएका थिए।

सोविताभन्दा ३ हजार ६७२ कम मत ल्याएका फुयाललाई फेरि पनि एमाले उमेदवार बनाएको छ। तेस्रो बनेकी राप्रपाकी कुन्तीदेवी पोखरेल (उपाध्याय) ले ११ हजार २४ मत ल्याएकी थिइन् । राप्रपाले उनै पोखरेललाई दोहोर्याएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत) समाजवादीसहितका दलहरुबीच चुनावी गठबन्धन भएको थियो। गठबन्धनबाट माओवादीकी ओनसरी घर्ती उमेदवार थिइन्। पूर्वसभामुख घर्तीले ९ हजार ४५९ मत ल्याएकी थिइन्। यसपालि दलहरुबीच गठबन्धन छैन।

कांग्रेसले उक्त क्षेत्रमा नयाँ अनुहार अघि बढाएको छ। कांग्रेसले कबिर शर्मालाई उमेदवार बनाएको छ। माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नितेश पौडेललाई उमेदवार बनाएको छ।

रास्वपाले सुनिल केसीलाई उठाएको छ। केसी ०७९ को निर्वाचनमा राप्रपाबाट प्रदेश सांसद बनेका थिए। पार्टी फेरेर उनी प्रतिनिधिसभाको उमेदवार बनेका हुन्।

सोविताले सिर्जना गरेको त्यो ‘वेभ’लाई जोगाउनु र अघिल्लो पटक समानुपातिकतर्फ प्राप्त १३ हजार ८७९ मतलाई सुरक्षित राख्दै थप गर्नु अहिले रास्वपासामु चुनौती छ। सोविताले संसद्मा आफ्नो प्रभावकारी भूमिका र वाकपटुताका कारण राष्ट्रिय स्तरमा एउटा छवि त बनाइन्, तर स्थानीय स्तरमा विकास र जनसम्पर्कका मुद्दामा उनीमाथि केही गुनासाहरू पनि देखिए। ती गुनासालाई सम्बोधन गर्दै नयाँ उम्मेदवारले कसरी मतदाताको मन जित्छन् भन्ने कुराले नै रास्वपाको भविष्य तय गर्नेछ।

फर्केर हेर्दा
२०७९ को निर्वाचनमा काठमाडौं–२ को प्रतिनिधिसभा रास्वपाले जित्दा दुवै प्रदेशमा राप्रपाले कब्जा जमाएको थियो। प्रदेश (१)मा राप्रपाका सुनिल केसी ६ हजार ६०२ मत ल्याएर निर्वाचित भएका थिए। एमालेका उमेदवार दोस्रो र कांग्रेसका उमेदवार तेस्रो बनेका थिए।

त्यस्तै प्रदेशतर्फ (२)मा राप्रपाकै राजु विष्ट निर्वाचित भएका थिए। १२ हजार १२७ मत ल्याएर उनी निर्वाचित हुँदा एमाले दोस्रो र एकीकृत समाजवादी तेस्रो भएको थियो।

पहिलो संविधानको निर्वाचनमा यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)ले चुनाव जितेको थियो। ०६४ मा भएको निर्वाचनमा माओवादीका झक्कु सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए।

२०७० को दोस्रो संविधानसभा चुनावमा नेपालले काठमाडौं–२ र रौतहतबाट चुनाव जिते। उनले रौतहट रोज्दा उक्त क्षेत्रमा उपनिर्वाचन भयो। उपनिर्वाचनमा कांग्रेसका दीपक कुँईकेलले एमालेका कृष्णगोपाल श्रेष्ठ पराजित गरेका थिए।

०७४ मा यो क्षेत्र एमालेले जितेको थियो। एमालेका नेता माधवकुमार नेपाल २७ हजार ३६६ मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका दीपक कुईँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए। त्यतिबेला विवेकशील साझाका सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए।

२०७९ को निर्वाचनमा भने नयाँ दलले अवसर पायो। अब यो क्षेत्रमा कसले जित्ला त ? कौतहुलता बढ्दो छ। प्रतिस्पर्धामा उत्रिएका उमेदवारहरु मतदाता भेटघाटमा छन्।


प्रतिकृया दिनुहोस्