Skip

Hamro Sanchar

एयर इन्डिया र इन्डिगो विमानका पखेटा ठोक्किएपछि…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । भारतको मुम्बई विमानस्थलमा मंगलबार एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन्।

यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।

यो घटना हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ बीच भएको हो ।

इन्डिगोको विमान अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको थियो भने एयर इन्डियाको विमान उडान भर्नुअघि ट्याक्सी–वेमा पालो पर्खेर बसिरहेको थियो ।

इन्डिगोका प्रवक्ताले भनेका छन्, “सन् २०२६ फेब्रुअरी ३ मा हैदराबादबाट मुम्बई आएको हाम्रो विमान अवतरणपछि ट्याक्सी–वेमा गुड्ने क्रममा अर्को एयरलाइन्सको विमानसँग ठोक्किएको पुष्टि गर्दछौँ ।

सबै यात्रुहरू सुरक्षित छन् र विमान पार्किङ गरेपछि उनीहरूलाई ओरालिएको छ । विमानको अहिले मर्मतसम्भार र निरीक्षण भइरहेको छ ।”

प्रोटोकल अनुसार सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच, एयर इन्डियाले आफ्नो विमानको पखेटामा क्षति पुगेपछि उडान ‘एआई २७३२’ ढिलो भएको र थप प्राविधिक जाँचका लागि ‘ग्राउन्डेड’ गरिएको जनाएको छ ।

टाटा समूहको स्वामित्वमा रहेको यस एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, “उडान भर्नुअघि ट्याक्सी–वेमा पर्खिरहेको अवस्थामा अर्को विमानसँग पखेटा ठोकिँदा हाम्रो विमानको विंकटिपमा क्षति पुगेको छ । यात्रुहरूलाई सुरक्षित रूपमा ओरालेर उनीहरूको गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था भइरहेको छ ।


प्रतिकृया दिनुहोस्