
काठमाडौँ । बिहीबार इन्डोनेशियामा एक घटनाको विश्वभर आलोचना भइरहेको छ । त्यहाँको आचे प्रान्तमा शरिया प्रहरीले एक जोडीलाई विवाहभन्दा अघि यौन सम्बन्ध बनाएको र मदिरा सेवन गरेको आरोपमा कठोर सजाय दिइएको छ ।
विवाहअघि शारीरिक सम्बन्ध बनाएको र मदिरा पिएको आरोपमा प्रहरीले एक जोडीलाई १४०–१४० कोर्रा हानेको छ । यो सजाय स्लामिक कानुन लागू भएको पछिल्लो २५ वर्षमा दिइएको सबैभन्दा कठोर सजायमध्ये एक हो । यस कारबाहीपछि मानवअधिकारवादी संस्थाहरुले आचे प्रान्तको शासन व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार आचे प्रान्तमा शरिया कानुन लागु छ । यहाँ अविवाहित जोडीलाई विवाहअघि शारीरिक सम्बन्ध बनाउन प्रतिबन्ध छ । कठोर स्लामिक कानुनद्वारा शासित आचे क्षेत्रमा भएको यस्तो क्रुर सजायका कारण महिला बेहोस भएकी थिइन् ।
न्युज एजेन्सी एफपीको रिपोर्ट अनुसार उक्त प्रेमी जोडीलाई सार्वजनिक रुपमा ढाडमा बाँसको पातलो भाटाले प्रहार गरिएको थियो । शरिया प्रहरीद्वारा उक्त जोडीलाई १४०–१४० पटक बाँसको पातलो भाटाले क्रुर तरिकाले प्रहार गरिएको थियो । उक्त सजाय दिइरहँदा त्यहाँ दर्जनौं मानिसहरु साक्षीका रुपमा राखिएको एफपीले उल्लेख गरेको छ ।
उक्त सजायमध्ये १००–१०० कोर्रा विवाहअघि यौन सम्बन्ध बनाएको आरोपमा र ४०–४० कोर्रा मदिरा पिएको आरोपमा हानिएको थियो । सन् २००१ मा इन्डोनेशियामा आचे प्रान्तलाई विशेष स्वायत्ता दिइएको थियो ।
त्यसयता यहाँ स्लामिक शरिया कानुन लागू छ । बिहीबार सजाय दिइएका जोडी पहिलो भने होइनन् । यसअघि अन्य पाँच जोडीलाई पनि शरिया कानुन तोडेको आरोपमा कोर्रा हानिएको थियो । गत वर्य दुई पुरुषालाई शरिया कानुन तोडेको आरोपमा ७६–७६ कोर्रा हानिएको एफपीले जनाएको छ ।

















