
काठमाडौँ, माघ ११- समुदायमा आधारित आदर्श शैल महाविद्यालयको २१औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार आयोजित एक विशेष कार्यक्रमकाबीच सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख इन्द्र बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले वार्षिक उत्सव सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै महाविद्यालयले सार्वजनिक शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आदर्श शैल महाविद्यालय स्थानीय सरकारबाट संरक्षित तथा समुदायमा आधारित विद्यालय भएको उल्लेख गर्दै यसको भौतिक संरचना निर्माणमा बागमती प्रदेश सरकारले सहयोग गर्दै आएको जानकारी दिनुभयो।
प्रमुख अतिथि बानियाँले प्रविधिको युगमा प्रवेश गरिसकेको वर्तमान समयमा एआई (कृत्रिम बुद्धिमत्ता) को सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। “एआईको जमाना आएको छ, तर यसको दुरुपयोग पनि बढिरहेको छ,” उहाँले भन्नुभयो, “अहिले देशमा भ्रम र झुटको खेती भइरहेको छ, त्यसैले युवापुस्ताले सत्य र असत्य छुट्याउन सक्ने क्षमता विकास गर्न जरुरी छ।”
उहाँले राजनीति जात्रा नभई जीवन यात्राको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै शिक्षा अहिलेको अनिवार्य आवश्यकता भएको बताउनुभयो। “जुन देशका नागरिक शिक्षित हुँदैनन्, त्यो देश अविकसिततर्फ उन्मुख हुन्छ,” उहाँको भनाइ थियो। साथै समाजमा नैतिकता क्रमशः स्खलित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले नैतिकता समाजको मूल धर्म र मर्म भएको उल्लेख गर्नुभयो।
“नैतिकता बिना कुनै देश र नागरिकको कल्पना गर्न सकिँदैन,” बानियाँले भन्नुभयो, “नैतिकताविहीन व्यक्तिले समाजलाई बिखण्डन गर्छ, विकृति फैलाउँछ र द्वन्द्वतर्फ धकेल्छ।” उहाँले ध्वंस गर्न धेरै समय नलाग्ने तर निर्माण गर्न लामो समय लाग्ने उदाहरण दिँदै महाविद्यालय निर्माण गर्न २० वर्ष लागेको स्मरण गराउनुभयो।
हालको पुस्ताले तुरुन्तै नतिजा खोज्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै उहाँले संघर्ष, धैर्यता र समय बिना प्राप्त उपलब्धि दीर्घकालीन नहुने स्पष्ट पार्नुभयो। “नैतिकता, धैर्यता र समयअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्नुपर्छ,” उहाँको भनाइ थियो।
संघीय लोकतान्त्रिक गणतन्त्र गरिब र निमुखाको व्यवस्था भएको उल्लेख गर्दै बानियाँले यो कुनै राजा–महाराजा वा धनाढ्य वर्गको व्यवस्था नभई समानुपातिक प्रणाली भएको बताउनुभयो। शिक्षामा देखिएको असमानता अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले सबै नागरिकले समान अवसर पाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको अन्त्यमा उहाँले बागमती प्रदेश सरकार सार्वजनिक शिक्षा क्षेत्रको पक्षमा रहेको उल्लेख गर्दै आदर्श शैल महाविद्यालयलाई आवश्यक योजना लिएर आएमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

















