
काठमाडौं । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नो देश पनि अमेरिकी सैन्य आक्रमणको खतरामा रहेको बताएका छन्।
बीबीसीसँग उनले भनेका छन्, ‘मलाई लाग्छ-अब कोलम्बिया अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरामा छ।’
पेट्रोले अमेरिकाले अन्य देशलाई आफ्नो ‘साम्राज्य’कै एक भागका रूपमा व्यवहार गरिरहेको आरोप पनि लगाएका छन्।
यही जनवरी ३ तारिख भेनेजुएलामा सैन्य हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई नै अमेरिका पुर्याएको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलाई ज्यान जोगाउने भए भाग्नु चेतावनी दिएका थिए।
कोलम्बियाका राष्ट्रपति पेट्रोले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘विश्वभर प्रभुत्व जमाउने अमेरिकाको योजनाले विश्व नै तहसनहस हुने जोखिम छ।’
जनवरी ३ देखि अमेरिकाको नियन्त्रणमा रहेका मदुरो दम्पती हाल न्युयोर्कस्थित हिरासतमा छन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा लागुऔषध र हतियार तस्करी अभियोगमा मुद्दा चलाइएको छ। यस क्रममा उनीहरूलाई गत सोमबार अदालतमा उपस्थित गराइएको थियो।
त्यस दिन भएको पहिलो सुनुवाइमा मदुरोले आफूले कुनै अपराध नगरेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।
त्यसरी एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको हमलाले विश्व राजनीतिमै तरंग ल्याएको छ। यसविरुद्ध विश्वका विभिन्न मुलुकले टिप्पणी गरिरहेका छन्।
मदुरो अमेरिकाको नियन्त्रणमा पर्नासाथ भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन् ।















