
काठमाडौं । भारतको मध्य प्रदेश राज्यको इन्दौर सहरमा दूषित पानी पिउँदा सातजनाको मृत्यु भएको छ ।
११ सयजना बिरामी परेका छन् । बिरामीमध्ये ११५ भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका टाइम्स अफ इन्डियाले जनाएको छ ।
इन्दौरका मेयर पुष्यमित्र भार्गवले समाचार एजेन्सी एएनआईसित भने, “स्वास्थ्य विभागले यस घटनामा तीनजनाको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ । यद्यपि, मेरो जानकारीअनुसार भागीरथपुर क्षेत्रमा बिरामी परेपछि कुल सातजनाको मृत्यु भएको छ ।”
इन्दौरलाई सबैभन्दा धेरै आठपटक भारतको सुरक्षित सहरको पुरस्कार प्राप्त भएको थियो ।
इन्दौरको भागीरथपुरा क्षेत्रमा दूषित पानीका कारण झाडाबान्ता तथा पखालाको महामारी फैलिएको थियो ।
नगर निगम (आईएमसी)का कमिस्नर दिलीपकुमार यादवले भागीरथपुरामा मुख्य पानी आपूर्ति पाइपलाइनमा चुहावट पत्ता लागेको बताए । र, शौचालयको ढल पिउने पानीमा मिसिन पुग्दा यस्तो महामारी फैलिएको उनको भनाइ छ ।
विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले यो घटनाका विषयमा सत्तारूढ भाजपाको विरोध गरेको छ । कांग्रेसको सामाजिक सञ्जाल एक्स खातामा लेखिएको छ, “इन्दौरमा दूषित पानी पिउँदा धेरैजनाको मृत्यु भएको छ र धेरै बिरामी परेका छन् । यो सरकारको लापरवाही हो, जसको परिणाम निर्दोष जनताले भोग्नुपरेको छ ।”
मध्य प्रदेश कांग्रेसका सभापति जीतु पटवारीले पनि लेखेका छन्, “यो केवल मृत्यु मात्र होइन, बरु आपराधिक लापरवाहीको परिणाम हो ।”
राज्य सरकारले घटना अनुसन्धानका निम्ति तीन सदस्यीय समिति गठन गरेको छ । एक जोनल अफिसर र असिस्टेन्ट इन्जिनियरलाई निलम्बन गरिएको छ । एक सबइन्जिनियरलाई सेवाबाट बर्खास्त गरिएको छ ।
राज्य सरकारले ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई दुईरदुई लाख भारु आर्थिक सहायता दिने घोषणा गरेको छ ।

















