
काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ ।
यसले गर्दा रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका बीबीसीले जनाएको छ । आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा ४० प्रतिशत आवासीय भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनका अधिकारीहरूले बताएका छन् ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनको सैन्य संरचनासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा ‘सटीक हतियार’ प्रयोग गरिएको दाबी गरेको छ । उता, युक्रेनी आपतकालीन सेवाले वृद्धाश्रमबाट ६८ जनाको उद्धार गरिएको जनाएको छ ।
आक्रमणपछि जेलेन्स्की अमेरिका प्रस्थान गर्नुभएको खबरमा भनिएको छ । जहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० बुँदे नयाँ शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम छ ।

















