
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्ने बताउनुभएको छ ।
विश्व ध्यान दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने मन्त्री पुनको भनाइ छ । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उहाँको तर्क छ ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रूपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घ–संस्थालाई सहकार्यमा आउन आग्रह गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराउनुभएको छ ।
गएको वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ ।

















