Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको चम्पादेवी कृषि समुहको साधारणसभा सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ६ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालित चम्पादेवी कृषि समूहको छैटौँ साधारणसभा सम्पन्न भएको छ । समूहले वडा नम्बर–६ का अध्यक्ष प्रकाश फुयालको प्रमुख आतिथ्यमा शनिबार साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा प्रमुख अतिथि फुयालले देशको मुख्य मेरुदण्ड मानिने वास्तविक किसानहरूले अझै पनि अपेक्षित रूपमा राज्यबाट अनुदान नपाएको गुनासो व्यक्त गरे । उनले अनुदान र सहयोग पहुँचवालामै सीमित हुँदा मेहनती किसानहरू पछाडि परेको उल्लेख गर्दै स्थानीय तहले वास्तविक किसानको पहिचान गरी सहुलियत र प्रविधिमा जोड दिनुपर्ने बताए ।

अनुदान वितरण प्रक्रियामा पारदर्शिता र पहुँचको अभाव हुँदा सक्रिय किसानहरू वञ्चित भएको उनको भनाइ थियो । उनले स्थानीय तहले उत्पादनमा आधारित किसानको पहिचान गरी अनुदान, प्रविधि र तालिमलाई प्राथमिकताका साथ वितरण गर्नुपर्नेमा जोड दिए ।

उनले वडा र नगरपालिकाबाट प्राप्त हुने अनुदानलगायत किसानले प्राप्त गर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

राज्यले किसानका लागि विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि किसानहरूले आफूहरूले कुनै किसिमको सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरूका अनुसार अनुदानको जानकारी नपुग्नु, पहुँच नहुनु तथा प्रक्रिया जटिल हुनुका कारण धेरै किसान लाभबाट वञ्चित भएका छन् ।

कार्यक्रममा समूहका सदस्यहरूको सहभागिता रहेको थियो । समुहको अध्यक्ष शान्ता कार्कीको अध्यक्षतामा सम्पन्न सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष राजन प्रसाद धमलाले प्रस्तुत गरेका थिए आगामी कार्ययोजना बारे छलफल गरिएको थियो ।

समुहमा २० जना कृषक आवद्ध छन् । बार्षिक प्रतिवेदन अनुसार समुहको २० लाख पुँजी रहेको छ ।

साधारणसभाले व्यावसायिक कृषि प्रवर्द्धन, आधुनिक कृषि प्रविधि प्रयोग, बजार व्यवस्थापन र समूह सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने निर्णय गरेको छ । साथै, सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यसमिति सदस्य कुलप्रसाद चौलागाईद्धारा संचालित कार्यक्रममा समुहका पुर्व अध्यक्ष तथा हालका सल्लाहकार टेकराज जोशीले स्वागत मन्तब्य दिएका थिए ।


प्रतिकृया दिनुहोस्