Skip

Hamro Sanchar

विराटनगरलाई काठमान्डुले दियो १३५ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ६ गते


काठमाडौं । विराटनगर किंग्सले उत्कृष्ट बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाज १३४ रनमा रोकिएको छ ।

कीर्तिपुरस्थित टीयू म‌ैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १३४ रन बनायो ।

काठमान्डुका लागि आदिल आलमलले सर्वाधिक २५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन बनाए ।

ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेल्दै १ चौका र २ छक्का मदतमा ३२ रन बनाए ।

यस्तै सन्तोष यादवले २४ बलमा १ छक्का मदतमा २६ रन बनाए । जेरार्ड एरासमसले १० रन जोडे ।

बलिङमा मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एकरएक विकेट लिए ।

विराटनगरका बलर मर्चेन्ट डे लाङले सुरुमै उत्कृष्ट बलिङ गरेपछि काठमान्डुको सुरुवात कमजोर रह्यो । १३ रनमै ३ विकेट गुमाएको काठमान्डुले पावर प्लेमा जम्मा २२ रन बनाएको थियो ।

२९-४ को अवस्थामा बेन चार्ल्सवर्थ र सन्तोष यादवले काठमान्डुको इनिङ्सलाई सम्हाल्ने प्रयास गरेका थिए । चार्ल्सवर्थ १३औं ओभरमा आउट भए ।

त्यसपछि सन्तोष यादव र आदिल आलम मिलेर काडमान्डुको इनिङ्सलाई अघि बढाए । सन्तोष र आदिलले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे ।

सन्तोष २६ रन बनाएर आउट भएपछि आदिलले जोन सिम्पसोनसँग ३३ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर पुर्‍याएका हुन् ।


प्रतिकृया दिनुहोस्