Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोषसँग प्रधानमन्त्रीको भेट

उपचारमा सबै सहयोग गर्ने आश्वासन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरिन्।

वीरेन्द्रनगर नगरपालिका-२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा गुमाएका हुन्।

उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गरे। आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले उपचारका लागि सम्भव हुन सक्ने जति सबै सहयोग र परिवारका लागि रोजगारीको पहल गर्ने आश्वासन दिइन्। ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु,’ कार्कीले भनिन्, ‘किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।’

अस्पतालमा बोहोराकी श्रीमती निर्मला र अन्य आफन्तहरु पनि उपस्थित थिए ।


प्रतिकृया दिनुहोस्