
काठमाडौं । बंगालदेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ ।
बंगलादेशमा गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा हिंसात्मक दमन गराएको उनीमाथि आरोप थियो ।
न्यायाधिकरण अदालतले मानवताविरुद्धको अपराधको मुद्दामा प्रस्तुत सबै प्रमाण ‘वास्तविक देखिने’ भनेको छ । अदालतले प्रमाणका रूपमा प्रस्तुत भिडियो, तस्बिर र अडियोहरूलाई परिवर्तन नगरिएको वा एआईद्वारा नबनाइएको स्पष्ट पारेको छ।
७८ वर्षीया हसिना, अरू दुई अधिकारीसँगै सरकारी जागिरमा विवादास्पद आरक्षण प्रणालीका कारण उत्पन्न जनप्रदर्शनको दमनका निम्ति ‘मास्टरमाइन्ड’ र प्रमुख हर्ताकर्ताको आरोपमा अनुपस्थितिमै मुद्दाको सुनुवाइ गरिएको थियो । उक्त आन्दोलनमा करिब एक हजार ४०० मानिस मारिएका थिए ।
हसिनामाथि पाँच आरोप लगाइएको थियो । उनीमाथि गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ढाकामा ठूलो संख्यामा प्रदर्शनकारीको सामूहिक हत्या गराएको, भीडमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्न आदेश दिएको, एक विद्यार्थी कार्यकर्ताको हत्या, प्रमाण नष्ट गर्ने उद्देश्यले शवहरू जलाएको वा नष्ट गरेको जस्ता मानवताविरुद्धको अपराधको आरोप गाइएको थियो ।
फैसलाअघि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले बढ्दो तनावलाई ध्यानमा राख्दै ढाका र छिमेकी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।


















