
काठमाडौं । जापान सरकारद्धारा सहयोग स्वरूप प्राप्त अत्याधुनिक दमकल (बारुणयन्त्र) सोमबार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । जापानको ओत्सुकी शहरका नगरप्रमुख कोबायासी नोबुयासुले कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीलाई दमकल हस्तान्तरण गरेका हुन् ।
उक्त दमकल ग्रासरुट मानव सुरक्षा परियोजनाहरूको लागि अनुदान सहायतामार्फत नेपालस्थित जापान राजदूतावासले उपलब्ध गराएको हो ।
हस्तान्तरण पश्चात दमकल चौबीसै घण्टा परिचालनमा रहने छ । दमकलमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । दमकल नगरका बाटोको बनावटअनुसार सानासाना गल्लीमा समेत पुग्न सक्छ । दमकलमा पानी र फोम दुवै प्रकारको प्रणाली रहेको छ । भने उक्त दमकलले ५ देखि ६ तलासम्मको भवनमा आगो निभाउन सक्छ ।
दमकल आएपछि समग्र कागेश्वरीमा विपद् जोखिमलाई धेरै हदसम्म कम गर्न सघाउ पुग्ने नगरप्रमुख उपेन्द्र कार्कीले बताए । उनले कागेश्वरी मनोहरामा आगोलागी हुँदा छिमेकी पालिकाबाट दमकल ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
नगरप्रमुख कार्कीले जापान सरकार र नेपालस्थित जापान दूतावासप्रति हार्दिक आभार प्रकट गर्दै यो साझेदारीले नेपाल–जापानबीचको जनस्तरीय मित्रता र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
यस दमकलले छिमेकी गोकर्णेश्वर, शंकरापुर, भक्तपुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ ।


















