Skip

Hamro Sanchar

विपिनको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २ गते


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो जानकारी गराएकी हुन् ।

‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले लेखेकी छन्।

हमास समूहको नियन्त्रणमा रहेका विपिनको शीघ्र रिहाइको लागि परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको उनको भनाइ छ ।

विपिनको रिहाइ गर्नु सरकारको दायित्व भएको भन्दै उनले हाल परराष्ट्र मन्त्रालयको परामर्श र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेको उनले स्मरण गराएकी छन् । विपिनको आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेको जानकारी समेत उनले गराएकी छन् ।

मन्त्री राणाले गत असोजमा राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेता, जी७७ प्लस, जी२०, एलडीसी समूह लगायतका बैठकलाई सम्बोधन गर्ने क्रममा पनि विपिनको रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

त्यसैगरी गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् ।

इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरूसँग भेटेरै वपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेको उनले बताएकी छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री राणाले इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि पनि कूटनीतिक पहललाई थप सक्रिय बनाएको बताइन्  ।


प्रतिकृया दिनुहोस्