
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्।
भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्धत गरेकोउनको भनाइ छ।
पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पोखरेलले ढिलासुस्तीले आर्थिक अनियमिततालाई प्रश्रय दिएको उल्लेख गरे।
‘भ्रष्टाचार त समस्या हुँदै हो, त्यो भन्दा ठुलो समस्या ढिलासुस्ती हो’ पोखरेलले भने, ‘ढिलासुस्तीले राज्यलाई ठूलो नोक्सानी पुर्याउँछ। त्यसको ज्वलन्त नमुना मेलम्ची खानेपानी आयोजना हो। त्यसै ढिलासुस्तीले भ्रष्टाचारले भन्दा ठूलो क्षति गरेको छ।’
मेलम्ची निर्माणमा ढिलाइ गरेको एकजना खलपात्र पूर्वसचिव भीम उपाध्याय नै अहिले शुसासनको प्रवक्ता हुनु हास्यास्पद भएको पोखरेलको भनाइ छ।
ढिलासुस्तीको भूमिका खेल्नेलाई इमान्दार मान्ने चलन समाजमा व्याप्त रहेको उनको भनाइ छ। यस्तो कुराले समाजमा ब्यापक निराशा फैलाएको पोखरेलले बताए।
‘जसले काम गर्दैन उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनुपर्दछ’ पोखरेलले भने, ‘काम नगर्नु भनेको इमान्दार हुनु हो भन्ने भाष्य तोड्नु पर्दछ।’
ढिलासुस्तीले गर्दा नै नारायणगढ बुटवल सडक खण्डको बेहाल भएको उनले जिकिर गरे। समयमा काम नगर्ने प्रवृतिका कारण यस सडकमा दुईपटक वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० गर्नुपर्ने अवस्था आएको पोखरेलले जानकारी दिए।
उनले प्रशासनिक ढिलासुस्तीका कारण ठेकेदार नै काम छोडेर हिड्ने अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उच्च स्तरको कूटनीतिक सम्बन्धका कारण यस सडकको निर्माणले निरन्तरता पाएको पोखरेलले बताए।
पोखरेलले प्रशासनिक ढिलासुस्तीलाई न्यून गर्ने हो भने व्यवस्था र प्रणालीप्रति आम जनता स्वत सकारात्मक हुने भनाइ राखे। प्रशासनिक संयन्त्रले गरेको ढिलासुस्तीको दोष पनि राजनीतिक संयन्त्रले खेप्नुपर्दा प्रणालीप्रति मानिसहरुको अविश्वास बढेको उल्लेख गरे।
‘सबै कागजपत्र पुगेका कामको निर्णय सातदिन भित्र भइसक्नु पर्दछ,’ उनले भने, ‘जसले यस्ता कुरामा निर्णय दिन ढिलाइ गर्दछ उसलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।














