
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बागमतीका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए।
यो सँगै बानियाँ ८ महिनाको लागि बागमतीको मुख्यमन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मुख्यमन्त्री बानियँको सपथ ग्रहण कार्यक्रम आजै अपारह्न ४ बजेका लागि तोकिएको छ।
उनले सपथ खाएपछि अन्य विभिागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने बानियाँ निकट स्रोतले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनको सरकारमा २० महिना कांग्रेस र अर्को २० महिना एमालेले सरकारको नेतृत्व गर्ने केन्द्रीय सहमती छ।
जसअनुसार कांग्रेसका बहादुर सिंह लामाले यसअघि १२ महिना मुख्यमन्त्री पद सम्हालिसकेका छन्। अब ८ महिनापछि बागमतीको नेतृत्व एमालेले सम्हाल्ने छ ।













