१४ भदौ, काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-काठमाडौँ सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको जनाएको छ।
बाटो भासिएपछि नारायणगढबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।
प्रहरीले जोखिमयुक्त स्थानमा यात्रा नगर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ।
सडक विभाग र स्थानीय प्रशासनको टोलीले अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको जोखिमका कारण यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।































