
सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे।
पोखरा महानगरपालिका ३० का चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा थिए। सोमबार दिउँसो साढे १ बजेतिर उनीहरु बास माग्न पुगेका थिए।
उनीहरुले आफूहरु ज्यामी काम गर्ने मान्छे भएकाले कामको खोजिमा रहेको बताएर बास मागेका थिए। भण्डारीको घरमा ४ जना र पौडेलको घरमा १२ जना बसेका थिए
त्यसअघि भने उनीहरु होटलमा बसेको भेटिएको छ। शनिबार पोखरा पुगेका उनीहरु एक रात होटलमा बसेपछि कामको खोजिमा लागेको बताएका छन्। अब तत्कालै घर फर्किने योजना नरहेको उनीहरुले प्रहरीलाई बताएका छन्।
‘हामीलाई त्यो ठाउँमा सन्चो भएन। पटक पटक बिरामी भइरहेकाले त्यो ठाउँ छाडेर नयाँ ठाउँको खोजिमा लागेका हौँ’, सोमबार साँझ प्रहरीसँग उनीहरुले भने।
‘एक बोरा चामल ल्याउन पनि २४ घण्टा लाग्छ। बिरामी हुँदा पनि हस्पिटल जान उति नै टाइम लाग्छ। टाढा छ, दुर्गम छ। हाम्रो आफन्तहरु पनि कोही छैन। घर पनि एकान्त ठाउँमा छ। त्यही भएर हामी जे पर्छ टर्छ भनेर छाडेर हिँडेको भन्छन्’, उनीहरुलाई फेला पारेको स्थानमा पुगेका एक प्रहरीले भने।उनीहरुले प्रहरीसँग पनि घर फर्किन मानेका छैनन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरेर उनीहरुलाई फर्काउने तयारी भइरहेको एसपी ओलियाले बताए। ५२ वर्षकी उर्मिला हायुका परिवार नै घर छाडेर गएको शुक्रबारदेखि हिँडेको खुलेको छ।
उर्मिलासँगै उनकी छोरी २७ वर्षकी कमला हायु, पूर्ण हायु, बुहारी २३ वर्षकी कोमल माया हायु, छोरी २२ वर्षकी उषा हायु, १८ वर्षकी छोरी अस्मिता हायु, १२ वर्षकी छोरी शान्ता हायु, १० वर्षकी ओमकुमारी हायु, छोराहरु २९ वर्षका राजु हायु, २४ वर्षका हिमाल हायु, १६ वर्षका लालबहादुर हायु, १४ वर्षका बेगबहादुर हायु, १२ वर्षका सुवर्ण हायु, ११ वर्षका लक्की हायु, ४ वर्षकी नातिनी रियासा हायु र १ वर्षका नाती अर्जुन हायु रहेका छन्।














