
काठमाडौं । पदबाट राजीनामा दिएका बागमती प्रदेशका चार मन्त्रीलाई मुख्यमन्त्री बहादुरसिंह लामाले पदमुक्त गरिदिएका छन्।
मुख्यमन्त्री लामाले प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिलकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीलाई पदमुक्त गरेको पत्र लेखी प्रदेश प्रमुखलाई जानकारी गराएका छन्।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र पठाउँदै संविधानको धारा १६९ उपधारा २९ख० बमोजिम उनीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका छन्।
संविधानको धारा १६९ को उपधारा ९२० मन्त्री पद रिक्त हुने अवस्थाबारे उल्लेख छ। जसको खण्ड ९क० मा मुख्यमन्त्रीसमक्ष लिखित राजीनामा दिएमा मन्त्री पद रिक्त हुने लेखिएको छ भने खण्ड ९ख० मुख्यमन्त्रीले पदमुक्त गरेमा खाली हुने भनिएको छ।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुखलाई लेखेको पत्रमा धारा १६९ को उपधारा २९ख० उल्लेख गरेकाले राजीनामा स्वीकृत नगरी पदबाट बर्खास्त गरेको देखिन्छ।
चार मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउँदै कांग्रेस संसदीय दलको नेता एवं प्रदेशका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्तामा सामेल भएका थिए।
कांग्रेस संसदीय दलका नेताको आकांक्षी इन्द्रबहादुर बानियाँलाई समर्थन गर्नका लागि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएको बताएका थिए। बागमती प्रदेश सभामा ३७ सिट रहेको नेपाली कांग्रेसका २१ सांसदले बानियालाई समर्थन गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। जसमा राजीनामा दिने चार मन्त्रीहरू समेत छन् ।













