Skip

Hamro Sanchar

चाक्सीबारी निष्कर्ष : ‘गम्भीर’ विषयमा सभापतिले हामीसँग पनि सल्लाह लिनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठकले गम्भीर विषयमा सभापति शेरबहादुर देउवाले आफूहरुको समूहसँग पनि परामर्श गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सो विषयमा मंगलबार सभापतिसँग भेट गरेर ध्यानाकर्षण गराउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।

कांग्रेसका सात नेताहरु बैठकमा सहभागी थिए । जसमा गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला, कृष्ण सिटौला र डा. प्रकाशशरण महत रहेका छन् । उनीहरु यसअघि पनि बस्दै आएका छन् ।

“नभेटेको दुई महिना भएको थियो । हाम्रो सेडुअलअनुसार चाक्सीबारीमा बसेका हौँ,” सहभागी एक नेताले भने, “हामीले हाम्रो भेलाको निष्कर्षका बारेमा पहिला सभापतिलाई जानकारी गराउछौँ । त्यसपछि मात्रै बाहिर बोल्नेछौँ ।”

उनका अनुसार सात बुँदामा बनेको सरकारले संविधान संशोधनलगायतका एजेन्डा अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै सरकारका तर्फबाट सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

“यो सरकार चाहिँ निरन्तर चलिरहोस् भन्नेमै छौँ । निरन्तर ८४ सम्म चलोस् । सरकार काममा चुस्त दुरुस्त बनोस् भन्ने हाम्रो चाहना हो, हामी सरकार ढलाउनका लागि बसेका होइनौँ,” ती नेताले भने ।

बैठकमा सहभागी पूर्वमहामन्त्री कृष्ण सिटौलाका अनुसार देशको समसामयिक विषयमा कुराकानी भएको थियो ।

“देशको समसामयिक विषयमा छलफल भयो । त्यसमा भर्खरै पार्टीले गरेको निर्णयका सम्बन्धमा पनि छलफल भयो,” उनले भने, “सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने हाम्रो चाहना हो । कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएको उपप्रधानमन्त्रीले प्रधानमन्त्रीसँग कुरा गर्नुहुन्छ ।


प्रतिकृया दिनुहोस्