Skip

Hamro Sanchar

विद्यासँगको भेटबारे ओलीको ब्रिफिङ : विचार गर्छु भन्नुभएको छ, हाम्रोबिचमा मतभेद छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो भएको भेटवार्ताबारे ‘ब्रिफिङ’ गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले भण्डारीलाई राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेको मानिस राजनीतिमा आउँदा पर्ने प्रभावका बारेमा स्मरण गराएको बताएका हुन् ।

‘देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजान सक्छ । सम्मानित भएर बस्दा नै राम्रो हुन्छ’, बैठकमा ओलीले विद्यासँग भएको छलफलबारे भनेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले आफ्नो सुझावमा भण्डारीले ‘विचार गर्छु’ भनेर जवाफ दिएको पनि बताएका छन् । ‘उहाँले विचार गर्छु भन्नुभएको छ । अब हामी जवाफ कुरेर बसेका छौँ,’ ओलीको भनाई थियो ।

यसैबिच प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै मतभेद नरहेको बताएको जानकारी दिएका छन् ।

‘१० वर्ष भइसक्यो पार्टी अफिस हेरेको छैन भनेर पार्टी कार्यालयमा भेट गर्ने कुरा भयो । भेटका क्रममा सबै कुरा खुला रूपमा भएका छन्’, उनले भने, नेकपा एमाले विभाजित गर्ने तत्त्व कसरी सल्बलाएका छन् भन्नेदेखि सरकारले गरेका कामका बारेमा कुराकानी भएको छ ।’

त्यसबाहेक विधान अधिवेशनको तयारीका बारेमा छलफल गरेको कुनै मतभेद नभएको अध्यक्ष ओलीले बताएका छन् । ‘उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबिचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,’ गौतमले ओलीको भनाइ उद्धृत गर्दै भने।

उनले विधान महाधिवेशनमा राजनीतिक, सांगठानिक र वैचारिक विषयमा छलफल गर्ने गरी तयार गर्न समेत अध्यक्षले निर्देशन दिएको बताए ।


प्रतिकृया दिनुहोस्