Skip

Hamro Sanchar

ओलीलाई भीम रावलको व्यंग्य : बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउनू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा हटाउन नहुनेमा जोड दिने नेताहरूलाई आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन्।

हाल मातृभूमि जागरण अभियानका संयोजक रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु के त भनी प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका हुन्।

एमालेबाट ६ महिनाअघि निष्कासित नेता रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ।केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने किरु’

साउन १ गते सचिवालय बैठकमा तीव्र विवादपछि बहुमतबाट पास ७० वर्षे सीमा हटाउने निर्णयबारे साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकमा एमाले नेताहरूबीच चर्काचर्की परेको थियो। त्यस क्रममा ओलीले ७० वर्षे उमेर हद लागु गर्ने हो भने आफू जेल बसेको १४ वर्ष घटाउनुपर्ने तर्क गरेको कुरा सार्वजनिक भएको छ।

यद्यपि एमालेको पोलिटब्युरो बैठकले पनि उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने नियम हटाउने निर्णय अनुमोदन गरिसकेको छ। अब यस विषयमा आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुँदै छ ।


प्रतिकृया दिनुहोस्