
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै छ । छात्रवृत्ति प्रवेश परीक्षा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् ।
उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक अंक गरिने छैन ।
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२र०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरिसकेको छ ।
महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ ।
यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् । छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका लागि चार हजार १६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् ।


















