
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र राजनीतिक र आन्तरिक मनमुटावका कारण बजेट ल्याउन ढिलाइ भएको बताएकी छन् ।
आज नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै डंगोलले बजेट ढिलो पेस भएकामा महानगरवासी र सरोकारवाला निकायसँग माफी मागिन् ।
‘‘हामीबीच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप–प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो । समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ । समयमै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेस गर्न नसकेकामा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना व्यक्त गर्दछौँ,’’ उनले भनिन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन जनप्रतिनिधि र कर्मचारी सबैको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।
‘‘हाम्रो सहयात्रा तीन वर्ष पुगिसकेको छ । जनताको अपेक्षा धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत गर्न चाहन्छु ।
जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु,’’ उनले भनिन् ।


















