Skip

Hamro Sanchar

नैनसिंहको माग : १५औं महाधिवेशनको मिति तोकौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा महरले महाधिवेशन मिति तोकेर तल्लो तहसम्म कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गरेका हुन्।

महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन, उनले भने।

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले सुझाव र रणनीति पेस गरेका थिए।

नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। उनले क्रियाशील सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाव दिए।

लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए।

उनले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै भने, संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन। सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ।

महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

सरकार निर्माणताका भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भने, सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।

उनले बढ्दो बाम धुर्वीकरण र गठबन्धन दुर्घटनाको जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिए।

नेता महरले शासन राम्रो हुन दल र नेता-कार्यकर्ता इमान्दार हुनुपर्ने बताउँदै पार्टीभित्र स्वार्थको द्वन्द्वसम्बन्धी नीति बनाउन माग गरे।

 


प्रतिकृया दिनुहोस्