Hamro Sanchar

पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव : राजनीति गर्न मन भए मैदानमा आउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् ।

सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको जिकिर गरे । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउनका लागि साक्षरता दर बनाउनुपर्ने बताए । उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरेका थिए ।


प्रतिकृया दिनुहोस्