Hamro Sanchar

माओवादीको निष्कर्ष : राजावादी सडकमा आउँदैमा गणतन्त्र मासिँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको ठूलो बलिदानबाट प्राप्त गणतन्त्र राजावादीहरू सडकमा आउँदैमा नमासिने निष्कर्ष निकालेको छ । माओवादी अस्तित्वमा रहँदासम्म कसैले गणतन्त्र फाल्न नसक्नेको ठहर छ ।

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राजावादीहरू सडकमा आउँदैमा व्यवस्थामाथि खतरा उत्पन्न नहुने निष्कर्ष निकालेको हो । बैठक भोलि पनि बस्नेछ ।

सरकारको नेतृत्व गरिरहेका कांग्रेस–एमालेको गलत आचरणकै कारण जनतामा असन्तुष्टि बढेको विश्लेषण माओवादीको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले रगत बगाएपछि आएको गणतन्त्र राजावादीहरू सडकमा उत्रिँदैमा नमासिने भन्दै समसामयिक राजनीतिमा धारणा राखेका थिए ।

बैठकमा उनीहरूले शासन हातमा लिएर राजाले जनअधिकार खोसेपछि पनि कोही राजाले नै न्याय दिन्छन् भन्दै र कोही आधा प्रतिगमन सच्चियो भन्दै, सरकारमा गएकै हुन् भन्दै कांग्रेस–एमालेबाटै संविधानमा खतरा रहेको बताएका थिए ।

पहिलो र दोस्रो दलको सरकार बनाएर कांग्रेस–एमालेले लोकतान्त्रिक व्यवस्थामा कतै नभएको अभ्यास यहाँ गरेको भन्दै आलोचना गरेका थिए । बैठकले सद्न र सडकको कामलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।


प्रतिकृया दिनुहोस्