Skip

Hamro Sanchar

प्रधानमन्त्री सुर्खेत पुग्दा सडक खाली गराएपछि विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २३ गते


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउँदा सडक खाली गराएर दुस्ख दिने काम भएको भन्दै विरोध भएको छ ।

आज ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको एक स्थानीयले बताए ।

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन्

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य रहेको बताए । ‘प्रधानमन्त्री आउनेबेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नपर्‍यो,’ उनले भने, ‘त्यही बेला हतारमा भएकाहरूले हर्न बजाएका होलान् । सामान्य हो, त्यो ।’

प्रधानमन्त्री अहिले मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रममा छन् भने त्यसपछि उनले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि नै काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लगिने छ ।


प्रतिकृया दिनुहोस्