काठमाडौं, माघ ८- कागेश्वरी मनोहरा नगरपालिकाले देशकै ठुलो गार्मेन्ट उद्योग आफ्नो नगरपालिकामा स्थानान्तरण गर्न सम्भावित अध्ययन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर १ ठुलाडिक, गणेशमान सिंह फाउन्डेसन र सानटारी कृष्ण मन्दिर आसपासमा रहेका विभिन्न स्थानका सयौं रोपनी सार्वजनिक (प्रति) जग्गामा गार्मेन्ट उद्योग स्थापना गर्न अध्ययन सुरु गरेको हो ।
सोमबार नगरप्रमुख उपेन्द्र कार्की र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको प्रतिनिधि मण्डल सहितको टोलीले वडा नम्बर १ का विभिन्न स्थानमा रहेको जग्गाको अवलोकन गरेको छ । टोलीले वडा नम्बर १ मा रहेको ठुलाडिकमा रहेको करिब ५० रोपनी, ढकाल गाउँ नजिकै रहेको गणेशमान सिंह फाउन्डेसनको करीब १५० रोपनी र वडा नम्बर १ कै सानटारीमा रहेको १०० रोपनी जग्गा अवलोकन गरेको हो ।
नगरप्रमुख कार्कीले नगरपालिका क्षेत्रमा रहेका यी सार्वजनिक जग्गामा देशकै ठुलो गार्मेन्ट उद्योग स्थानान्तरण गर्ने उदेश्य स्वरुप नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका प्रतिनिधि मण्डलसहितको टोलीले अवलोकन गरेको बताए ।
नगरप्रमुख कार्कीले हाम्रोसंचार भने, “हामी नगरपालिकालाई समृद्ध बनाउने अभियान छौ, यसका निम्ति नगरक्षेत्र भित्र विभिन्न उद्योग तथा कलकारखाना खोल्न जरुरी छ, यसले एकातर्फ नगरपालिकाको आन्तरिक श्रोतलाई बढाउछ भने अर्कोतर्फ रोजगारीको अवसर सृजना हुन्छ । यसले नगरपालिका र नगरवासीलाई फाइदा पुर्याउछ ।”
नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघ आबद्ध रहेर विभिन्न उद्योग तथा कारखानाहरुले देशको आवश्यकताको ३३ प्रतिशत मागलाई धानिरहेको, ती उद्योग तथा कारखानाहरु अहिले काठमाडौंका बिभिन्न क्षेत्रमा छरिएर रहेको अवस्थामा संघले ती उद्योग तथा कारखानाहरुलाई एकीकृत रुपमा संचालन गरेर संचालन गर्ने गरि भाडामा जग्गा खोजिरहेको र उक्त कार्यको लागी नगरपालिकाको वडा नम्बर एकमा रहेका सार्वजनिक जग्गाहरु उपयुक्त हुन सक्ने भएकोले अवलोकनमा आएको नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले बताए ।
उनले भने, ” हामीले नगरपालिकाको वडा नम्बर १ मा रहेका विभिन्न ३ स्थानका जग्गाको अवलोकन गरेका छौ, जगाहरु हाम्रा लागी उद्योग तथा गार्मेन्ट संचालन गर्न उपयुक्त देखिएका छन् । नगरपालिकाले जग्गा भाडामा दिने मनसाय व्यक्त गरको छ, यसले हामीलाई उत्साहित बनाएको छ । यहाँ हामीले उद्योग तथा गार्मेन्ट संचालन गर्न पाउने हो भने, नगरपालिकाका नागरिकहरुका निम्ति रोजगारीको अवसर सृजना हुने र नगरपालिका र नगरवासीलाई फाइदा पुग्ने छ ।”
नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले, उद्योग स्थापना पश्चात, आवश्यक पर्ने जनशक्तिको ५० प्रतिशत जनशक्ति नगरवासी राख्ने समेत बताएका छन् ।