काठमाडौं, माघ ३- कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जेष्ठ नागरिकका लागि ‘डे केयर’ संचालन गर्ने बताएका छन् ।
वडा नम्बर-७ को हरहरमहादेवस्थित ‘शिवम मार्गी एकीकृत महिला समाज’को प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले यस्तो बताएका हुन् ।
जेष्ठ नागरिको कुरा सुन्ने, बुझ्ने, झर्को नमान्ने र उनीहरुको मार्गदर्शन अहिलेका नयाँ पिढीले पालना गर्नुपर्ने प्रमुख कार्कीले बताए । जेष्ठ नागरिक समाजको मार्गदर्शक भएकाले उनीहरुको अवमूल्यन गर्न नहुने र जेष्ठ नागरिकबाट अहिलेको पुस्ताले दिब्य ज्ञान लिनुपर्नेमा प्रमुख कार्कीले जोडदिए ।
जेष्ठ नागरिकका अनुभव भनिदिने, सुनिदिने मञ्च अहिले जरुरी रहेकोले नगरपालिकाले छिट्टै ब्यबस्थित ढंगले ‘डे केयर’ संचालन गर्ने तयारी गरेको उनको भनाई थियो ।
‘वडा नम्बर-९ मा जेष्ठ नागरिक भवन निर्माण हुँदैछ । त्यसमा ३ वटा ब्लक निर्माण गर्ने र जसलाई डे केयर सेन्टरको रुपमा संचालन गर्ने तयारी छ । त्यस स्थान जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न भेटघाट स्थल तथा भजन कृतन गर्ने मनोरञ्जन स्थल बन्नेछ । जेष्ठ नागरिक समाजका मार्गदर्शन हुन् । समाजमा सभ्यता र संस्कार सिकाएका छन् । अहिलेको पिंडीले जेष्ठ नागरिकको ज्ञानको उपयोग गर्ने रुची नै राखेका छैनन् । सबैका घर रित्तिएका छन् । युवा पुस्ता उच्च शिक्षाका लागि भन्दै बाहिरिएका छन् । बृद्ध आमाबुबाहरु एकान्तमा एक्लो जीवन बाँच्न बाध्य भएका छन् । जेष्ठ नागरिकका लागि के गर्न सकिन्छ भनेर सोचिराखेका छौं’ नगरप्रमुख कार्कीले भने ।
नगरप्रमुख कार्कीकाअनुसार जेष्ठ नागरिक भवनमा मनोरन्जनका साथसाथै भजन-कृतनका कार्यक्रम, स्वास्थ्य सेवा, खाजा, खानालगायतका सेवा प्राप्त हुनेछन् भने आवतजावतका लागि छुट्टै सवारी साधनको ब्यबस्था हुनेछ ।
उनले जेष्ठ नागरिक समाज मार्फत नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेर आवश्यक रकम प्रदान गरेको पनि जानकारी दिए । जेष्ठ नागरिकको ६/६ महिनामा मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य शिविरमार्फत निशुल्क बिशेषज्ञ सेवा प्रदान गरेको, नगरपालिकाले चाडपर्व खर्चवापत २ हजार प्रदान गरेको, वडा कार्यालयहरुले कहिले तिर्थयात्रा त कहिले बनभोज जस्ता कार्यक्रममा सरिक गराएको बताए ।
कार्यक्रममा नगरप्रमुख कार्कीले महिला समाजले गरेको क्रियाकलापहरुको खुलेर प्रशंसा गरेका थिए । स्थानीय सरकारको तल्लो तह भनेको नै टोल सुधार समिति रहेको स्मरण गराउदै उनले शिवम मार्गी एकीकृत महिला समाजले स्थापनादेखि गरेका रचनात्मक कार्यलाई नगरपालिकाले साथ दिने प्रतिबद्धता जनाए । साथै नगरप्रमुख कार्कीले महिला तथा बालबालिका शाखा प्रमुख सबिना श्रेष्ठलाई समाजसँग समन्वय गरेर २ लाखसम्मको रचनात्मक र समाजमा सकारात्मक प्रभाव पार्ने कुनै कार्यक्रम गर्न अनुरोध गरे ।
संस्था राम्रो बन्दै गएपछि चुनौती पनि त्यतिकै थपिने भन्दै संयमित भएर समाजका क्रियाकलापलाई अगाडी बढाउन प्रमुख कार्कीले सुझावसमेत दिए ।
समाजले स्थापनाको एक बर्ष अवधिमा गरेका क्रियाकलापको डकुमेन्ट्री प्रस्तुत गरेको थियो । जसमा निशुल्क आँखा परिक्षण, निशुल्क स्त्री रोग बिशेषज्ञ परामर्श कार्यक्रम, सरसफाई, वृक्षारोपण, योग साधना केन्द्रको स्थापनालगायत रचनात्मक कार्यहरु गरिरहेको छ ।
९८ घरधुरी रहेको शिवम मार्गका ५४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । भने समाजले उक्त टोलका बासिन्दा विद्यावारिधि गरेका डाक्टर नारायण प्रसाद चुडाल र डाक्टर दिपक महतलाई पनि सम्मान गरेको थियो ।
महासचिव आस्था सुवेदीले संचालन गरेको कार्यक्रममा बिशेष अतिथि वडा नम्बर-७ का कार्यवाहक अध्यक्ष भक्त थापा, महिला बालबालिका शाखा प्रमुख श्रेष्ठ र सम्मानित हुने डाक्टर चुडालले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गीता अर्यालले समापन गरेकी थिइन् ।
समाजले प्रस्तुत गरेको डकुमेन्ट्रीको भिडिओ यहाँ हेर्नुहोस्-