
काठमाडौं, पुस ५- उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कागेश्वरी मनोहरा नगरपालिकाको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार नगरपालिकाको भ्रमणका क्रममा उपप्रधान सिंहले यस्तो बताएका हुन् ।
नगरपालिकाले स्थापनादेखि नै स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नगरपालिकाको विकासका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको बताए ।
नगरपालिकाको सभाहलमा भएको एक कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले स्मार्ट सिटिले निम्ताएको समस्या, पूर्वी सहरी आयोजना, मनोहरा कोरिडोर लगायतका बिषयमा उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउदै आवश्यक सहयोगको लागि अनुरोध गरेका थिए ।
सो क्रममा उपप्रधानमन्त्री सिंहले जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरूको समाधानका लागि गठित कार्यदलले सहरी विकास मन्त्रालयलाई आजै प्रतिवेदन बुझाउने र प्रतिवेदनलाई सहरी विकास मन्त्रालयले चाँडै कार्यान्वयनमा लैजाने बताए । उनले सहरमा भाडामा बस्ने परिवारको सङ्ख्या बढी रहेको भन्दै निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफ्नै सम्पत्ति हुनेगरी अघि बढ्ने योजना सफल बनाउन सके अर्थतन्त्रमा ठुलो योगदान पुग्ने उनले बताए ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री सिंहले नगरपालिकाको बस्तुस्थिति तथा विकास सम्बन्धी जानकारीसमेत लिएका थिए ।






















