Hamro Sanchar

हवाई यात्रुहरूको चाप बढेपछि हवाई सेवा कम्पनीले थपे उडान संख्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १८ गते


Advertisement

काठमाडौं । हवाई यात्रुहरूको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान संख्या थपेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौंमा एक–एक उडान थपेको छ । साथै असोज १८ गतेदेखि काठमाडौं–जनकपुर–काठमाडौं गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको हो । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्‍याइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए । साथै, अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मंगलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।


प्रतिकृया दिनुहोस्