आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अजिंगरबाट दुई घण्टा बेरिएकी महिलाको प्रहरीद्वारा उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ४ गते


Advertisement

काठमाडौँ, असोज ४- एक अजिंगरबाट दुई घण्टाभन्दा बढी समय बेरिएकी महिलालाई थाइल्यान्डको प्रहरीले उद्धार गरेको छ । ती ६४ वर्षीया महिलाको नाम अरोम भएको बताइएको छ । राजधानी ब्यांककको बाहिरी हिस्सामा पर्ने आफ्नै घरमा उनी भाँडा माझिरहेकी थिइन् ।

अचानक उनले आफ्नो खुट्टामा कयौँ पटक केहीले टोकेको महसुस गरिन् । ‘सर्प अगाडि आएर मलाई टोक्यो,’ प्रहरीले खिचेको भिडिओमा उनले भनेकी छन् । त्यसपछि अजिंगरले उनलाई बेर्न थाल्यो । अन्ततः उनी जमिनमा लडिन् ।

प्रहरीका अनुसार लडेपछि पनि उनले आफूलाई अजिंगरबाट मुक्त गर्न दुई घण्टासम्म कोसिस गरिन् । तर, सफल भइनन् । उनले सहयोगका लागि हारगुहार गरिन् । तर, सुरुमा कसैले सुनेनन् । अन्ततः एक छिमेकीले उनको गुहार सुने र प्रहरीलाई खबर गरिदिए ।

‘ती महिला भुइँमा लडेकी थिइन् र अजिंगरले उनलाई कसिलोगरी बेरेको थियो,’ प्रहरीका मेजर सार्जेन्ट अनुशर्ण वङमालीले भनेका छन्, ‘अजिंगर निकै ठूलो थियो ।’

प्रहरीले खिचेको भिडिओमा अरोम भुइँमा बसेकी देखिन्छिन् । सर्प उनको जिउमा बेरिएको छ । उनलाई अजिंगरबाट छुटाउन थप आधा घण्टा लागेको प्रहरीले जनाएको छ । ‘त्यसपछि सर्प भाग्यो, हामीले समात्न सकेनौँ,’ प्रहरीले भनेको छ ।

थाइल्यान्डमा २५० प्रजातिका सर्प पाइन्छन् । अजिंगर पनि तीन प्रकारका पाइन्छन् । अजिंगर विषालु हुँदैनन् तर तिनले आफ्नो सिकारलाई कसिलोगरी बेरेर सास फेर्न नदिई मार्छन् ।

गत महिना पनि थाइल्यान्डमा बाथरुममा बसिरहेका एक पुरुषको अजिंगरले अण्डकोष टोकिदिएको थियो । उनी बाथरुम सफा गर्ने ब्रसले अजिंगरलाई हिर्काएर बच्न सफल भएका थिए ।

अजिंगरबाट छुट्न उनलाई एक सुरक्षा गार्डले सघाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीएनएन


प्रतिकृया दिनुहोस्