Skip

Hamro Sanchar

रामेछापबाट तस्करी गरेर ४ ट्रक खयर सुनसरी पुर्‍याइयो, छानबिन जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ५ गते


रामेछाप, साउन ४- रामेछापबाट सिन्धुली हुँदै चार ट्रक खयर तस्करी गरेर सुनसरी पुर्याइएको खुलेको छ ।

वन डिभिजन कार्यालय रामेछापमार्फत खयरको काठ बोकेर सुनसरी गएको ४ वटा ट्रकमा अवैधरुपमा खयरको काठ फेला परेपछि यस्तो खुलासा भएको हो । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी थिइन् भने डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी समेत रहेका वन अधिकृत देवेन्द्र यादवले काम तामेली (सिल) गरेका थिए । उक्त गाडीमा डिभिजन वन कार्यालय रामेछापले टाँचा लगाएको आधिकारिक काठमा मिसिएको अवस्थामा अवैध काठ भेटिएको थियो ।

रामेछाप जिल्लामा सिल भई खयरको काठ बोकेर गएको गाडीमा अवैध खयरको काठ फेला परेको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए । डिभिजन वन कार्यालय प्रमुख यादवले भने– “रामेछापबाट खयरको काठ लिएर आएका गाडीमा अवैध काठ फेला परेको छ । त्यस विषयमा अनुसन्धान भइरहेको छ ।’ काठ खरिदकर्तासहित ५ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय प्रमुख यादवले बताए ।

“जिल्ला अदालतबाट म्याद थप गरी ५ जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ । दोषीलाई वन ऐनअन्तर्गत कारबाही हुन्छ । यसमा संलग्न सबैलाई कारबाही हुन्छ कर्मचारी ठेकदार, हाकीम जो कसैलाई पनि छुट हुँदैन । काठ लिएर आएका ४ वटा गाडीमध्ये केहीमा सिल टुटेको अवस्था थियो, डिभिजन वन प्रमुख यादवले भने, ‘काठ खरिदकर्ता र गाडीका चारै जना चालकहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । चालकहरुबाट सिल कहाँ तोडिएको हो, अवैध काठ कहाँबाट लोड गरिएको हो भन्ने कुरा खुल्ने नै छ । यसमा संलग्न सबैलाई कारबाही हुन्छ ।”

‘वन ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता हुन्छ । दोषीलाई कडा कारबाही हुन्छ’, उनले भने ।

रामेछापबाट काठ बोकेर गएका ४ वटा ट्रक डिभिजन वन कार्यालय सुनसरीको नियन्त्रणमा रहेको पनि डिभिजन वन प्रमुख यादवले जानकारी दिए ।

स्रोतका अनुसार काठ खरिद कर्ता श्याम सेर तुम्बाहाम्फे र चालकहरु सर्लाहीका तेजबहादुर तिमल्सिना, सिन्धुलीका गणेश परियार, रामेछापका कुमार माझी र खड्गबहादुर तामाङलाई वनको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

उक्त काठ रामेछाप जिल्लामा असार २३ गते लोड भएको थियो । काठ रामेछाप नगरपालिका–८ ल्याङ्ल्याङ्बाट लोड भएको र डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी तथा डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत देवेन्द्र यादवले सिल लगाएका थिए । रामेछापबाट करिब १ हजार क्यूफिट काठ लोड भएको थियो । रामेछापबाट गाडी असार २३ गते साँझ सुनसरीका लागि छुटेका थिए । बा.प्र ०१–००६ ख २१११, बा.प्र. ०१–००६ ख ३३४९, मधेस प्रदेश ०३–००२ ख ००९५ र कर्णाली प्रदेश ०२–००१ ख ०४१९ नम्बरको ट्रकमा लोड भएको पाइएको थियो ।

डिभिजन वन कार्यालय रामेछापका अनुसार रामेछापबाट वन कार्यालयले टाँचा लगाएको आधिकारिक रुपमा १ हजार ५ सय ९ थानको ९८९.१८ क्यूफिट खयरको गिँडा काठको स्थानान्तरण पुर्जी भएको थियो । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी थिइन् भने सूचना अधिकारी समेत रहेका वन अधिकृत देवेन्द्र यादवले काम तामेली (सिल) गरेका थिए ।

यस विषयमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीले अवैध काठ जाँदै छ भन्ने गोप्य सूचना आफूले पाएपछि फिल्डमा खटिएका कर्मचारीलाई काठ लोड भएको गाडी नछोड्न सूचित गरेको तर कर्मचारीले अटेर गरी गाडी पठाएको बताए । कर्मचारीले गाडी छाडिदिएको थाहा पाएपछि प्रहरी चेकपोस्ट सेलेघाटमा गएर बुझ्दा काठ लिएर ४ वटा ट्रक राति नै गएको देखिएपछि शङ्का लागेर काठ लिएर गएका ट्रकका चालकहरुलाई तत्काल फोन गरी गाडी जहाँ पुगेको छ त्यही रोक्न लगाएको बताए । उक्त विषयमा सम्बन्धित मन्त्रालयका सचिवज्यूलाई पनि जानकारी गराएँ, डिभिजन वन प्रमुख भण्डारीले बताए । त्यो काठ सुनसरी पुग्नुपर्ने भएकाले, प्रहरी र डिभिजन वन कार्यालय सुनसरीसँग समन्वय गरी काठ सुरक्षित रुपमा सुनसरी पुग्ने व्यवस्था आफूले मिलाएको उनको भनाइ छ ।

काठ लोड गराई गाडीमा सिल गर्ने अधिकृत कहाँ हुनुहुन्छ भन्ने जिज्ञासमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख भण्डारीले भने, ‘उहाँ धरानमै हुनुहुन्छ, ४/५ दिनदेखि कार्यालय पनि आउनुभएको छैन ।’

अवैध काठ बोकेर गएको गाडीको चालक र ठेकेदार मात्रै पक्राउ पर्नु र कर्मचारी पक्राउ नपर्नुले कर्मचारी उम्काउने खेल त भएको छैन भन्ने प्रश्नमा सुनसरीको डिएफओ भन्छन्, “अनुसन्धान जारी छ दोषी देखिए जो कोहिलाई पनि कारबाही हुने निश्चित छ नियम कानुनले न कर्मचारी भन्छ न अरु नै, यत्रो दिन भै सक्दा पनि तथ्य पत्ता नलाग्नु विषय रहस्यमय हुँदै गएन र भन्ने अर्को प्रश्नमा उनले थपे, ‘अनुसन्धान टिमले काम गरेको गरेकै छ छिट्टै सत्य तथ्य आउने कुरामा बिस्वस्त छौं ।’


प्रतिकृया दिनुहोस्