काठमाडौं, जेठ २- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन् ।
लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ ।
नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो । कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ?’
उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने पनि बताए ।
‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने ? बकवास बोलिरहने ? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ ।’
उनले बिहीबारदेखि संसद सुचारू हुनुपर्ने पनि बताए । ‘संसदको यो समय कांग्रेसको लहडबाजीमा बरबाद गरिनु हुँदैन । सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने ?,’ ओलीले भने, ‘रविको कमीकमजोरी छन् भने निकाय छन् कारबाही गर्ने जसका बारेमा पनि कांग्रेस जे पनि बोलिदिने ?’