Hamro Sanchar

पार्टी एक ढिक्का छ, सरकार छाड्ने हल्ला निराधार हो- एकीकृत समाजवादी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


Advertisement

काठमाडौं, बैशाख २५- नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए ।

बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।


प्रतिकृया दिनुहोस्