काठमाडौं, वैशाख २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् ।
रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।
‘गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास छ । तर आएको छैन,’ गृहमन्त्री समेत रहेका लामिछानेलाई उद्धृत गर्दै सहप्रवक्ता मनीष झाले भने, ‘कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो ।’
समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो । समय अभावका कारणले उपनिर्वाचनको समीक्षा भने गर्न नसकिएको झाले बताए ।
‘बजेट अधिवेशनको तयारी कसरी गर्ने, विभिन्न साझेदार दलसँग छलफल गर्ने, अघिल्लो अधिवेशनको भन्दा संसद्मा राम्रो गर्ने छलफल भयो’ झाले भने ।