काठमाडौँ, चैत १०- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठा माछा भए पनि समातेरै छोड्ने दाबी गरेका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने उल्लेख गरे ।
मन्त्री लामिछानेले भने–‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, बाठा र जतिसुकै बाठा माछा हुन, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’
उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे । उनले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गरे ।
लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने उल्लेख गरे । जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गरे ।