काठमाडौं, चैत ९- कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले नगरपालिकाका अन्य विकासका आयोजना कटाएर भएपनि गोठाटार भैमाल खानेपानी आयोजना सम्पन्न गर्ने बताएका छन् । शुक्रबार सहलगानी आयोजनाको नयाँ पानी टंकी शिलान्यास तथा नव निर्मित ओभरहेड पानी टंकी एवं उपभोक्ता समितिको कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै मेयर कार्कीले यस्तो बताएका हुन् ।
नगरपालिकाको प्रतिष्ठा र नगरबासीको जीवनसँग जोडिएको खानेपानी आयोजना छिटोभन्दा छिटो गुणस्तरीय रुपमा सम्पन्न गराउँदै जनताको घरमा चौबीसै घण्टा शुद्ध पानी पुर्याउने लक्ष्य रहेको मेयर कार्कीले बताए । चुनावमा आफुले प्रतिबद्धता गरेको हुनाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
‘हामी सबै जना लाग्यौं भने यहाँ न श्रोतको अभाव हुन्छ न त प्रतिबद्धताको । उपभोक्ता समिति, पदाधिकारी वा जसको जहाँ निकटता छ । त्यहिंबाट पहल गरौँ । स्थानीय सरकार यहाँ छ । स्थानीय सरकारसँग समन्वय गर्न सक्ने नेतृत्वहरु यहाँ छौं । नगरपालिका कहाँ के कमि हुन्छ त्यहाँ खडा हुन्छ । यो आयोजना नगरपालिकाको प्रतिष्ठा र नगरबासीको जीवनसँग जोडिएको बिषय हो । नगरपालिका अन्य विकासका आयोजना कटाएर भएपनि गोठाटार भैमाल खानेपानी आयोजना सम्पन्न गर्न तयार छ ।’ उनले भने । यस्तै उनले यस आयोजना सम्पन्न गर्न सबैले जिम्मेवारी बहन गर्नुपर्ने भन्दै आजसम्म राजनीतिमा लगाएको सम्पूर्ण तागत प्रयोग गरेर भएपनि आयोजना निर्माणमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सम्बोधनका क्रममा उनले काँडाघारी खानेपानी आयोजनामा थुप्रै लापरबाहीहरु भेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।हिजो जनतालाई खानेपानी खुवाउने सोच राम्रो, तर त्यसको प्राविधिक पक्षहरुको तयारी र सो अनुरुपको कार्ययोजना बनाउने कुरामा लापरबाही भएको उनले बताए ।
वि.सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भएर २५ करोडको लागत तयार पारेर यो आयोजना अघि बढेको हो । संघीय आयोजना भएपनि यसलाई अघि बढाउन नगरपालिकाले ठूलो मात्रामा बजेट खर्च गरेको छ ।
लापरबाही र कमजोरीलाई सल्टाउन नै निकै सकस परेपनि तीब्र गतिमा प्राविधिक सहितको टोलीले काम गरिरहेकाले सबै समस्याको समाधान गरेर यसै आयोजनामार्फत जनतालाई एक महिनाभित्रै प्रत्येक घरमा स्वच्छ खानेपानी वितरण गर्ने मेयर कार्कीले प्रतिबद्धता व्यक्त गरे ।
८३ करोड ९१ लाखमा आयोजनाको पहिलो चरणमा गोठाटार भैमाल खानेपानी आयोजना सञ्चालनका लागि गत असारमा बोलपत्र आह्वान (टेण्डर) आह्वान गरिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले ३१ करोड रुपियाँ बराबरको बोलपत्र आह्वान गरेको हो । जसमा जि.आर.डी/पाथीभरा जे.भी. काठमाडौंले १८ करोड ६९ लाखमा ठेक्का पाएको छ ।
जसमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र ३० प्रतिशत स्थानीय उपभोक्ताको लगानीमा निर्माण सम्पन्न हुने गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईले जानकारी दिए ।
जसअनुसार पहिलो चरणमा उपभोक्ताले ८ करोड र दोश्रो चरणमा १८ करोड व्यहोर्नु पर्नेछ । बाँकी ५८ करोड सरकारबाट अनुदान प्राप्त हुनेछ । आयोजना संचालनका लागि नगरपालिकाले ९५ लाख उपलब्ध गराइसकेको छ ।
आयोजना मार्फत पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ७,८ र ९ का स्थानीयका घरमा खानेपानी उपलब्ध हुनेछ भने दोश्रो चरणमा वडा नम्बर ६ समावेश गरेर साढे ८ हजार घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ ।
आयोजना ठेक्का लागेको २ बर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।
अहिले पनि यस आयोजना अन्तर्गत १९ सय घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् ।