Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुसी सेनामा ५३१ जना नेपाली, २७२ जना अझै सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १३ गते


Advertisement

काठमाडौं, फागुन १३– रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।

यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको बताइन् । उनले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताइन् ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीले बताइन् ।

यसैबीच रुसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले हिजो बेलुका पशुपतिनाथ परिसरमा रहेको भश्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन् । ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन् ।

अभियानले रुसी सेनामा रहेकोहरुको सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै काठमाडौंमा रहेको रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।


प्रतिकृया दिनुहोस्