Skip

Hamro Sanchar

शिशु चोर्ने मनिषाकी दिदी र श्रीमान पक्राउ, आफ्नो सन्तान नभएपछि बच्चा चोर्ने योजना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १२ गते


काठमाडौं, फागुन १२- थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार प्रसूति अस्पताल प्रवेश गरी त्यहाँबाट काभ्रे घर भएकी एक महिलाको २६ दिने शिशु लिएर फरार भएकी महिलालाई प्रहरीले मध्यराति १२ बजेतिर काठमाडौंको काँडाघारीबाट नियन्त्रणमा लिएको हो ।

त्यहाँबाट शिशुलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनिषा सिंह रहेकी छन् । उनीसँगै प्रहरीले उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो ।

शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन् ।

सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

शुक्रबार मध्याह्न १२ बजे ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन् । बच्चा खोज्दा नभेटिएपछि दिउँसो १ बजेतिर खबर भएपछि प्रहरी खोजीकार्यमा जुटेको थियो ।


प्रतिकृया दिनुहोस्