Hamro Sanchar

एमाले दोलखा उपाध्यक्षमा हिरा थोकरको उम्मेदवारी, यस्तो छ बिगत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २४ गते


Advertisement

दोलखा, माघ १४- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर जिम्मेवारी बहन गर्दै आएका थोकर मेलुङ गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

उम्मेदवारी घोषणा गर्दै थोकरले संगठनको संस्थागत विकास गर्न‚ विधानअनुरूप संस्था परिचालन गर्न‚ संगठनलाई पद्धतिबाट कार्यान्वयन गर्न उम्मेदवारी दिएको बताए । पार्टी सुसंगठित, सुव्यवस्थित र सक्षम बनाउनका लागि उपाध्यक्ष पदमा दाबी गर्ने उनको भनाई छ । उनले भने, ‘पार्टीलाई जिल्ला स्तरमा पुनस्थापित गराउने, जनवर्गिय संगठनहरुलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, व्यवसायिक, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउन म जिल्ला उपाध्यक्ष हुन चाहेको हुँ ।’

यहि २२ गतेदेखि सदरमुकाम चरिकोटमा सुरु अधिवेशन बुधवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

एमाले दोलखाको नेतृत्व सम्हाल्नका लागि हालका अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष इश्वरचन्द्र पोखरेल र पूर्व सचिव भरत प्रसाद दुलाल मैदानमा छन् । जसमध्ये श्रेष्ठ र पोखरेल आआफ्नो प्यानल बनाएर मैदानमा छन् भने दुलाल प्यानल बिहिन स्वतन्त्र उम्मेद्वार हुन् ।

जारी दशौँ अधिवेशनमा नर श्रेष्ठ प्यानलबाट निवर्तमान उपाध्यक्ष राजेन्द्र मानन्धर उपाध्यक्ष पदका प्रत्याशी छन् । सचिवमा भने श्रेष्ठ प्यानलबाट स्वयं बहादुर खड्का र पोखरेल प्यानलबाट कृष्ण बस्नेत मैदानमा छन् । श्रेष्ठ प्यानललाई पूर्व मन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ र पोखरेल प्यानललाई पूर्व मन्त्री एवं अर्का पोलिट ब्युरो सदस्य आनन्द पोखरेलको साथ रहेको बताइएको छ ।

को हुन् थोकर ? यस्तो छ बिगत

दोलखाको साबिक घ्याङसुकाठोर गाविस (हाल मेलुङ गाउँपालिका वडा नम्बर ३) मा जन्मिएका हिरा थोकरको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट सुरु भएको हो ।

२०४९ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल घ्याङसुकाठोकर गाउँ कमिटीको सचिव भएका थिए । २०५१ मा गाउँ पार्टी कमिटीको उपसचिव हुँदै थोकर २०५४ सालको घ्याङसुकाठोकर गाविस वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनि सशस्त्र द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरण पश्चात् केही दिनमा रिहा भएका थिए । २०६३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य‚ २०६४ मा युवा संघ दोलखाको अध्यक्ष र २०६७ सालमा जिल्ला कमिटी सचिवालय सदस्य हुँदै ९औं जिल्ला अधिवेशनमा सचिव पदमा निर्वाचित भएका हुन् ।

देश संघीयतामा गइसकेपछि २०७४ भएको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित भएका थोकर हाल मेलुङ गाउँपालिकाका अध्यक्षसमेत हुन् ।


प्रतिकृया दिनुहोस्