
काठमाडौं, कात्तिक १४- दसैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ ।
सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ । दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए ।
द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
द्रुत बस सेवाको लेनमा अब डोरी लगाइने छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बसको लेनमा अब डोरी लगाइने बताए ।

















