काठमाडौं, कात्तिक ११- नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापानमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रह्यो ।
चियापानमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भए ।
चियापनमा सहभागी हुन पुगेका पाहुनलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले स्वागत गरेका थिए ।
बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान आयोजना गरिएको हो । चियापानमा राजनीतिक दलका नेता, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको थियो । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।